सन्तोष देवकोटा
भरतपुर/निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) चितवनले भरतपुर महानगरपालिकाद्धारा गरिएको शुल्क बृद्धिको निर्णय कार्यान्वयनको माग गरेको छ । भरतपुर महानगरपालिकाले निजी विद्यालयको शुल्क वृद्धिको निर्णय हाललाई स्थगन गर्ने निर्णय गरेपछि आपत्ति जनाउँदै प्याव्सन चितवनले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि सो माग गरेको हो ।
यदि भरतपुर महानगरपालिकाले निजी विद्यालयको शुल्क बृद्धिको निर्णय कायान्वयन नगरे निजी विद्यालयहरुले शुल्क बृद्धिको स्वघोषणा गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्याव्सन चितवनका अध्यक्ष मदन पुरीले चेतावनी दिनु भयो । शुल्क बृद्धि नगरे विद्यालय संचालन गर्न सक्ने अवस्था नरहेको समेत अध्यक्ष पुरीले जानकारी दिनु भयो । विद्यालयको सञ्चालन खर्च र आर्थिक दायित्व बढ्दै गएकाले शुल्क समायोजन अनिवार्य आवश्यकता बन्न पुगेको प्याब्सन चितवनले जनाएको छ ।
प्याब्सनले महानगरपालिकाको निर्णयलाई अमान्य र अस्वीकार्य भन्दै नियमसम्मत रूपमा गरिएको शुल्क समायोजनलाई निरन्तरता दिन माग गरेको हो । भरतपुर महानगरपालिकाले २०८३ असोज २ गतेदेखि लागू हुने गरी निजी विद्यालयको शैक्षिक शुल्कमा औसत २७ प्रतिशत वृद्धि गर्ने निर्णय गरेको थियो । तर, कात्तिक १७ गते सामाजिक सञ्जालमार्फत उक्त निर्णय स्थगन गरिएको जानकारी गराएपछि प्याब्सनले विरोध जनाएको हो । विगत चार वर्षदेखि शुल्क समायोजन नभएको, यस अवधिमा १७.१ प्रतिशत महँगी बढेको तथा शिक्षक–कर्मचारीको तलब वृद्धि गर्नुपर्ने अवस्था रहेकाले शुल्क समायोजन अनिवार्य भएको प्याब्सनको भनाइ छ ।


प्रतिकृया दिनुहोस्