भरतपुर/चितवन उद्योग वाणिज्य संघको आयोजनामा शनिबार संघकै सचिवालयमा दोलखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई स्वागत तथा व्यावसायिक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्वागत मन्तव्य राख्दै चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले चितवन उद्योग वाणिज्य संघको स्थापना, ऐतिहासिक पृष्ठभूमि र हालसम्म संघले निजी क्षेत्रको हकहितका लागि खेलेको भूमिकाबारे प्रकाश पार्नुभयो । सोही क्रममा उहाँले चितवनको समग्र आर्थिक, औद्योगिक, कृषि तथा पर्यटन क्षेत्रको सम्भावना र गतिविधिबारे जानकारी गराउँदै यस्ता अन्तर–जिल्ला भ्रमणले व्यावसायिक अनुभव आदानप्रदान तथा आपसी सहकार्यलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका उपाध्यक्ष कृष्ण कुमार गुप्ताले बागमती प्रदेशभित्रका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूबीचको आपसी समन्वय र सहकार्यले समग्र प्रदेशको आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले वर्तमान समयमा निजी क्षेत्रले भोगिरहेका नीतिगत तथा आर्थिक चुनौतीहरूको समाधानका लागि महासंघ र प्रदेश समिति सदैव क्रियाशील रहेको उल्लेख गर्दै चितवन र दोलखाबीचको यो व्यावसायिक भेटघाटले स्थानीय उत्पादनको प्रवद्र्धन र पर्यटन साझेदारीमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भ्रमण टोलीको नेतृत्व गर्नुभएका दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापाले न्यानो आतिथ्यताका लागि चितवन उद्योग वाणिज्य संघप्रति आभार प्रकट गर्नुभयो । मन्तव्यका क्रममा अध्यक्ष थापाले दोलखा उद्योग वाणिज्य संघको संक्षिप्त परिचय प्रस्तुत गर्दै दोलखा जिल्लाको भौगोलिक अवस्था, जलविद्युत, पर्यटन, कृषि तथा स्थानीय उत्पादनका सम्भावना र चुनौतीहरूबारे चर्चा गर्नुभयो । उहाँले चितवन र दोलखाका व्यवसायीहरूबीच व्यावसायिक साझेदारी र अनुभव साटासाट गर्न यो भ्रमण फलदायी रहेको बताउनुभयो ।
छलफलका क्रममा दुवै जिल्लाका उद्योगी व्यवसायीहरूले वर्तमान आर्थिक अवस्था, व्यवसाय सञ्चालनमा देखिएका समस्या, स्थानीय उत्पादनको बजारीकरण तथा अन्तर–जिल्ला व्यापार प्रवद्र्धनका विषयमा आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रमको अन्त्यमा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष जनक पौडेलले दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सनत थापा लगायत सम्पूर्ण भ्रमण टोली तथा कार्यक्रममा उपस्थित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो । कार्यक्रममा चितवन उद्योग वाणिज्य संघ उपाध्यक्ष राजन पिया लगायत चितवन र दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो । चितवन उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले सञ्चालन गर्नुभएको थियो ।


प्रतिकृया दिनुहोस्