भरतपुर/चितवन उद्योग वाणिज्य संघको आयोजनामा संघको परिसरमा जारी पाँच दिने महिला उद्यमी मेला सोमबार सकिएको छ । यहि भदौ १९ गतेदेखि “महिला उद्यमशिलता विकासमार्फत महिला सशक्तिकरण” भन्ने मूल नाराका साथ सुरु भएकौ मेला सोमबार समापन गरिएको हो । चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वागमती प्रदेश सभा सदस्य मायाँ श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले महिला उद्यमशिलता विकास गर्न यस्ता खालका कार्यक्रमले सहयोग गर्ने वताउँदै चितवन उवासंघलाई धन्यवाद ज्ञापन गर्नु भयो । कार्यक्रममा बोल्दै उद्योग तथा वाणिज्य कार्यालय चितवनका प्रमुख विनोद पौडेलले उद्योग तथा वाणिज्य कार्यालय चितवनले महिला उद्यमशिलता विकासमा जोड दिँदै आएको वताउँदै कार्यालयले प्रविधि हस्तान्तरण कार्यक्रमको लागि निवेदन माग गरेको जानकारी दिँदै विभिन्न उद्योग तथा व्यवसायीहरुलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्नु भयो ।
चितवन उद्योग वाणिज्य संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले संचालन गर्नु भएको कार्यक्रममा मेलाका प्रदर्शकहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो । तेस्रो संस्करणको रुपमा संघको प्रदर्शनी केन्द्रमा सम्पन्न भएको मेलामा चितवन, मकवानपुर, नवलपुर, तनहुँ, पोखरा लगायत वाग्मती प्रदेशका महिला उद्यमीहरुको सहभागिता रहेको चितवन उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य एवं महिला उद्यमी विकास समितिका संयोजक अस्मिता तिमिल्सिना रिजालले जानकारी दिनुभयो । मेलामा करीब ३० वटा स्टल रहेका थिए । जसमा घरेलु तथा लघु उद्योग, हस्तकला, कृषि सम्बन्धी उत्पादनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिएकौ थियो । मेलामा एकल महिला, दुर्गम क्षेत्रका महिला उद्यमी र स्टार्टअपलाई निःशुल्क स्टल उपलब्ध गराइएकौ थियौ । मेलामा करिब १५ हजार दर्शकले अवलोकन तथा ३० लाख रुपैयाँ भन्दा धेरैको कारोवार भएको संयोजक रिजालले जानकारी गराउनु भयो ।
महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाको प्रचार–प्रसार गर्ने, महिलालाई उद्यमशिलतामा उन्मुख गराउँदै स्वरोजगार र रोजगारी सिर्जना गर्ने, प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने र नयाँ व्यवसायिक सम्पर्क तथा साझेदारीको अवसर प्रदान गर्ने विषयमा मेला सफल भएको चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सुमन कुमार श्रेष्ठले बताउनु भयो । कार्यक्रममा उद्योग तथा वाणिज्य कार्यालय चितवन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् हेटौँडा, भरतपुर महानगरपालिका लगायतका संस्थाहरु प्रवद्र्धक रहेका थिए ।


प्रतिकृया दिनुहोस्