सन्तोष देवकोटा
भरतपुर/शिक्षित बनौं, सुरक्षित रहौं भन्ने मुल नाराका साथ नेपाल राष्ट्र बैंक विरगन्ज कार्यालयको आयोजनामा बुधबार भरतपुर स्थित सिएमटी रिसोर्टमा नेपाली सक्कली बैंक नोटहरूमा भएका सुरक्षण विशेषता तथा जारी नोट पहिचान सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वित्तीय अपराध नियन्त्रणमा नेपाल राष्ट्र बैंक र समुदायको संयुक्त पहल कार्यक्रम अन्तरगत उक्त सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेल मुख्य अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै मुख्य अतिथि गभर्नर पौडेलले नक्कली नोट हो भन्ने जान्दा जान्दै कारोवार गर्नु अपराध भएको वताउनु भयो । चुनावको समयमा धेरै नोटहरु बजारमा आउने हुँदा त्यसलाई ध्यानमा राखेर नक्कली नोटको कारोवार न्युनिकरण गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । नेपाल राष्ट्र बैंकले नोटको प्रयोगलाई निरत्साहित र डिजिटल आर्थिक कारोवारलाई प्रवद्र्धन गर्ने नीति लिएको उहाँले वताउनु भयो ।
नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक सुशील पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका उपनिर्देशक अभियान उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक पौडेलले हेर्ने, छुने र ढल्काउने गरेर नक्कली नोटको पहिचान गर्नुपर्ने वताउनु भयो ।
नेपालका सवै नोटहरुको रङ ख्याल गर्नुपर्ने वताउँदै सक्कली नोटमा हेर्ने क्रममा सुरक्षण धागो, पानी छाप र आधि अक्षर पुरा हुने जानकारी दिनु भयो । साथै सक्कली नोट छुँदा अंक र आकृति उठेको महसुस हुने वताउँदै उहाँले सक्कली नोट ढल्काउँदा पँहेलो भागमा अंक देखिने, धागो तलमाथि गरेजस्तो हुने र रंङ परिवर्तन हुने जानकारी दिनु भयो । साथै युभि लाईट (विशेष उपकरण) मार्फत नोट जाँच गर्दा सगरमाथा, सिग्नेचर र नम्वरहरु बल्ने वताउँदै यस्ता कुरामा ख्याल गरेमा नककली नोटको कारोवार नियन्त्रण गर्न सकिने उहाँको भनाई थियो ।
नेपाल राष्ट्र बैंक बीरगञ्ज कार्यालयका सहायक निर्देशक सन्देशकुमार ठाकुरले संचालन गर्नु भएको उक्त कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यष चिरन्जीवि सुवेदी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक खगेन्द्र अधिकारी लगायत विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रममा नगदमा कारोबार गर्ने साना तथा मझौला व्यापारीहरू, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरू, अर्किड स्कुलका विद्यार्थीहरू लगायत स्थानीय सर्वसाधारणहरू गरि दुई सय जनाको सहभागिता रहेको थियो ।
सो अवसरमा सर्वसाधारणलाई सक्कली नोट तथा नक्कली नोट देखाएर कसरी सक्कली वा नक्कली छुट्याउने सम्बन्धमा लाइभ डेमन्स्रेसन गरिएको थियो । सर्वसाधारणलाई सक्कली र नक्कली नोट सम्बन्धी फरक छुट्याउन जानकारीमूलक प्याम्प्लेट समेत बाँडिएको थियो । सोहि कार्यक्रममा अर्किड स्कुलका विद्यार्थीहरूलाई सक्कली नोट र नक्कली नोट सम्बन्धी फरक छुट्याउन श्रव्य दृश्य सामग्री मार्फत सचेतनामूलक जानकारी प्रदान गरिएको थियो ।


प्रतिकृया दिनुहोस्