भरतपुर/सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा घोषणा गरेपनि नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पताल आइतबार खुल्ला रहँदै आएको छ । सेवाग्राहिको आवश्यकता र भावनालाई मध्यनजर गरि सार्वजनिक विदाको दिन (आइतबार) पनि भरतपुर आँखा अस्पताल खुल्ला गरि सेवा प्रदान गर्दै आएको नेपाल नेत्रज्योति संघ चितवन शाखाका सभापति एवं भरतपुर आँखा अस्पताल संचालक समितिका अध्यक्ष जयराम श्रेष्ठले जानकारी दिनु भयो ।
आइतबार सार्वजनिक विदा भए पनि भरतपुर आँखा अस्पताल सुचारु हुने जानकारी दिँदै अध्यक्ष श्रेष्ठले आम सेवाग्राहीलाई नझुक्किन अनुरोध गर्नु भयो । सार्वजनिक विदाको दिन अस्पताल खुल्छ कि खुल्दैन भन्ने अन्योलता भएका कारण आइतबार भने अस्पतालमा विरामीको चाप कम हुने गरेको भरतपुर आँखा अस्पताल संचालक समितिका सचिव केशव प्रसाद अधिकारीले जानकारी दिनु भयो । संस्थाको सेवा गर्ने उदेश्य अनुरुप भरतपुर आँखा अस्पताल आइतबार पनि सेवा प्रदान गरिएको वताउँदै सचिव अधिकारीले पछिल्लो समय भरतपुर १० वाईपास स्थित भरतपुर आँखा अस्पतालवाट दैनिक ८ सय भन्दा वढि सेवाग्राहिले सेवा पाउँदै आएको जानकारी दिनु भयो ।
नेपाल नेत्रज्योति संघ चितवन अन्तरगत विशेषज्ञ सेवा सहितको भरतपुर आँखा अस्पताल, कावासोती, ठोरी आँखा अस्पताल, २ वटा सर्जिकल सेन्टर लगायत १९ वटा आँखा उपचार केन्द्र र १ सिटी क्लिनिक संचालनमा छन् । ७ जिल्लाका २० वटा पालिकामा आँखा उपचार केन्द्र स्थापना गरि २० लाख जनसंख्या भएको क्षेत्रमा वार्षिक ३ लाख विरामीको आँखा जाँच र ११ हजार भन्दा वढि विरामीको आँखाको अप्रेसन हुने गरेको नेपाल नेत्रज्योति संघ चितवन शाखाका सभापति श्रेष्ठले जानकारी दिनु भयो ।


प्रतिकृया दिनुहोस्