भरतपुर/नेपाल नेत्रज्योति संघ चितवनद्धारा संचालित भरतपुर आँखा अस्पतालले आफ्नो वार्षिक कार्यक्रमको विषयमा शनिबार भरतपुर २ क्षेत्रपुर स्थित दियालो फुडल्याण्डमा समिक्षा गरेको छ । अस्पतालले सेवा फाण्डेसनको आर्थिक सहयोगमा आ.व. २०८२/०८३ मा संचालन गरेको बाह्य कार्यक्रम तथा अस्पतालवाट प्रदान गरिएको आँखा उपचार सेवाको डिष्ट्रिक प्रोजेक्ट एड्भाइजरी कमिटिको समिक्षा बैठक कार्यक्रमको विषयमा समिक्षा गरेको हो ।
भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारी प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले भरतपुर आँखा अस्पतालले मानवीय सेवाको काम गरिरहेको वताउँदै अस्पतालको सेवामा गुणस्तर विकास गर्दै क्षेत्र विस्तार गर्नुपर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा भरतपुर आँखा अस्पताल अन्तरगतका विभिन्न आँखा उपचार केन्द्र र विभिन्न पालिकाका स्वास्थ्य शाखाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुको चालु आर्थिक वर्षमा भएका कमको समिक्षा र आगामी आ.व.मा गर्नुपर्ने काम तथा कामका दौरानमा भएको समस्याको वारेमा जानकारी गराउनु भएको थियो ।
सहभागिको जिज्ञासाका विषयमा भरतपुर आँखा अस्पतालका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का, निवर्तमान अध्यक्ष कृष्णराज धरेल, वरिष्ठ अस्पताल प्रशासक दयाशंकर चौधरी, बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे लगायतले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति संघ बागमती प्रदेश समितिका सभापति ऋषिराम पौडेल, भरतपुर आँखा अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा. पुष्पा गिरी, आँखा बैंक कोअडिनेटर छायाँ श्रेष्ठ, लगायत अस्पतालका चिकित्सक तथा कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।


प्रतिकृया दिनुहोस्