भरतपुर/भरतपुर १२ मा रहेको नौरङ्गे टोल विकास संस्थाले टोलवासीहरुको सक्रिय सहभागितामा समग्र टोलको सुरक्षा तथा हरियाली प्रवद्र्धन गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्दे आएको छ । गत वर्षका दुईवटा तिहारमा आफ्नो टोलमा देउसी भैलो खेलेर संकलित रकमबाट टोलका मुख्य सडक र चोकहरुमा १६ थान सिसिटिभि राख्न सफल भएको टोल विकास संस्थाले यहि भाद्र २३ र २४ गतेको आन्दोलन र त्यस पछिको सम्भावित सुरक्षा चुनौतिलाई ध्यान दिई टोलमा गस्ती गर्ने निर्णय गरेको हो ।
देशको संवेदनशिल सुरक्षा अवस्था, सुरक्षाकर्मीको गिर्दो मनोवल र तत्काल प्रहरीबाट सहयोग प्राप्त हुने अवस्था नभएको देखि टोल विकास संस्थाका अध्यक्ष सन्तोष पन्तले भाद्र २५ गते नै टोल भेला राखी टोलवासी सबैको इच्छा बमोजिम रातको समयमा गस्ती गर्ने व्यवस्था मिलाएका हुन् । सुरक्षा संवेदनशिलताको अवस्थावारे टोलवासीलाई अवगत गराउँदा अव आफ्नो टोल आफै सुरक्षा गर्नु पर्छ, सिसिटिभि थप्नु पर्छ, अलार्म राख्नु पर्छ भन्ने जस्ता उत्साहजनक सुझाव टोलवासीबाट आएकोले २५ गते देखि नै गस्ती सुरु गरेको अध्यक्ष पन्तले बताए । रातको समयमा १० जना भन्दा बढी टोलवासीहरु भेला भई सामूहिक रुपमा गस्ती गर्दा एक आपसमा आत्मियता बढेको तथा टोल सुरक्षित रहेको अनुभूति भएको भन्दै यसलाई आगामि दिनमा समेत निरन्तरता दिने टोलवासीहरुले बताएका छन् ।


प्रतिकृया दिनुहोस्