सन्तोष पन्त
परिचयः
अंग्रेजी शव्द भोट जस्लाई नेपालीमा मत भनिन्छ र मतलाई नेपाली शव्दकोषहरुले आन्तरिक अभिप्राय, आशय, कुनै विषयका सम्वन्धमा सोची, सम्झी प्रकट गरिने विचार, राय, सम्मति, निर्वाचनमा कुनै व्यक्ति वा व्यवस्था वा पक्षलाई दिइने सम्मतिलाई भोट भनि अथ्र्याएको पाईन्छ । यसरी कुनै पनि विषयमा आफुले विचार गरेर आफ्नै मनले दिइने मत वा विचारलाई मात्र भोट भन्नु पर्दछ र कसैको बहकाउमा लागेर, दवाव वा प्रभावका परेर दिइएको मतलाई भोट भनेर मान्ने कार्य व्यवहारिक रुपमा उचित नहुन सक्छ । हुन त मतगणनाका समयमा कुन मत मतदाताको मनै देखि सोचेर, विचार गरेर दिइएको हो र कुन होईन भन्ने एकिन हुँदैन र बढी मत प्राप्त गर्ने व्यक्ति वा दललाई विजेता घोषणा गर्ने गरिन्छ । निर्वाचनका समयमा प्रायः मतदाताहरु कुनै न कुनै रुपमा प्रभावित भए र मतलाई आफ्नो दायित्व तथा अधिकारका रुपमा प्रयोग गर्न सकेनन् भने घोषणा भएको मत परिणाम उपर चित्त नबुझ्ने, सन्तुष्ट नहुने पनि हुन सक्छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन यहि फागुन २१ गते बिहिवार देशभर एकै चरणमा हुन गई रहेको छ, १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले १० हजार ९६७ मतदानस्थल, २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी केन्द्रबाट ३ हजार ४९० उम्मेदवारहरु मध्यबाट १६५ जना छनौट हुने गरि मतदान गर्दैछन् । यस पटकको निर्वाचनमा सबै मतदाता कसैको बहकाउमा नपरी, दवाव वा प्रभावमा नपरि झनै सुझबुझले, स्वविवेकले आफ्नो मतदान गर्ने अधिकार प्रयोग गरि राष्ट्रलाई निकास दिनु अहिलेको आवश्यकता हो ।
कस्लाई भोट दिने ?
सर्वप्रथम त कुनै पनि निर्वाचनमा मतदाता हुन पाउनु भनेको आफु नागरिक भएको प्रमाण, बालिग भएको प्रमाण र गर्व तथा सार्वभौम अधिकार सम्पन्न भएको प्रमाणित विषय हो भने सहि र गलत छुट्याउने, सहिलाई अगाडि बढाउने र गलतलाई पन्छाउने दायित्व बहन गर्ने बेला पनि हो । निर्वाचनको समयमा सहि र गलत छुट्याउन सकिएन भने, सहिलाई छान्न सकिएन भने आफु मतदाता भएकोमा आत्मग्लानी हुन पुग्छ, देश र जनताको भविष्य समेत अध्यारो तिर धकेलिन पुग्छ, गन्तव्यमा ढिलो पुग्ने निश्चित हुन्छ । तसर्थ आशन्न प्रतिनिधि सभाको निर्वाचनमा कस्तो उम्मेदवारःवा दललाई छान्ने भन्ने सम्वन्धमा यसरी निर्णय गर्नु उपयुक्त हुने देखिन्छ ।
(क) दलिय इतिहास र व्यवहारः
प्रत्येक दलको आआफ्नो इतिहास हुन्छ । नेपालमा पनि निर्वाचन आयोगमा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १३६ राजनीतिक दल दर्ता भएको भए पनि ६८ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् । हामी मतदाताले कुनै पनि दललाई मतदान गर्नु भन्दा पहिला उक्त दलको इतिहास के हो ? कस्तो परिस्थितिमा उक्त दल स्थापना भयो र दलले नेपालको स्वाधिनता, राष्ट्रिय अखण्डता र जनताका हक अधिकारको सुनिश्चितताका लागि के कस्तो योगदान गरेको छ ? भ्रष्टाचार नियन्त्रण र सुशासनका सवालमा के कस्तो योगदान रहेको छ ? दलको नीति देशहितमा छ वा छैन, राष्ट्रियताका सवालमा स्पष्ट भिजन छ कि छैन ? समावेशिताको व्यवहार कस्तो छ ? जनताका प्रत्यक्ष सरोकारका विषयमा कस्तो नीति, धारणा छ र व्यवहारमा के छ भनि मुल्याङ्कन गर्न आवश्यक देखिन्छ । नेपालको संविधान अनुसार बहुमत प्राप्त दलको संसदिय दलको नेता कार्यकारी प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीले नै मन्त्रीपरिषद गठन गर्ने व्यवस्था भएकोले देश विकासका सवालमा पनि उक्त दलको नीति स्पष्ट हुन आवश्यक छ भने चिन र भारत जस्ता दुई ठुला देशको विचमा रहेको नेपालका लागि छिमेकि राष्ट्र लगायत अन्य राष्ट्रहरु संगको सम्वन्धले पनि प्रत्यक्ष प्रभाव पार्ने भएकोले विदेश नीतिका वारेमा झनै स्पष्ट धारणा आउनु र विश्वसनिय हुनु पर्छ । कतै कतै परिवर्तनका लागि नयाँ दल तथा राष्ट्र र राष्ट्रियताका लागि पुराना दल भन्ने गरेको पनि सुनिन्छ तर दल कुनै नयाँ र पुरानो भन्ने हुँदैन, यो त सोचको कुरा हो । परिवर्तीत समयलाई चिन्ने र समय अनुसार राष्ट्र हितमा हिड्ने दल तथा नेतालाई चयन गर्नु पर्छ । चयन गर्दा कुनै पनि हालतमा सार्वभौमिकता, राष्ट्रिय अखण्डता र स्वाभिमानमा आँच आउन नदिने प्रतिवद्धतालाई पहिलो प्राथमिकतामा राख्नु पर्छ । मतदान गर्नु अघि मतदाताले निर्वाचनमा भाग लिएका दलहरुका उपरोक्त विषयहरु केलाउनु पर्छ र कुनै व्यक्ति तथा सामाजिक सञ्जालको प्रभावमा नपरि आफुलाई सहि लागेको दल र उम्मेदवारलाई मात्र मतदान गर्नु पर्छ ।
(ख) चुनावी प्रतिवद्धता÷घोषणा पत्रः
प्रत्येक राजनीतिक दलले चुनावमा जाँदै गर्दा आफ्ना मतदातालाई आप्mनो दलको प्रतिवद्धता, घोषणा पत्र सार्वजनिक गर्ने व्यवस्था भए बमोजिम दलहरुले आफ्ना प्रतिवद्धता सार्वजनिक गर्दछन् । सबै मतदाताले उक्त प्रतिवद्धताहरुको शुक्ष्म अध्ययन गर्नु पर्दछ । हुन त चुनावका समयमा चर्का र लोकप्रीय नाराहरु लेखि, ठूला ठूला आश्वासन लेखि प्रचार प्रसार गर्ने र तुरुन्तै मुलुकको अवस्थामा आमुल परिवर्तन गर्ने, रोजगारीका अवसरहरु तत्कालै सिर्जना गर्ने, चुट्कीको भरमा भ्रष्टाचार नियन्त्रण गर्ने, अनुभूति हुने गरि तत्कालै विकास गर्ने, मतदाताका सबै इच्छा आकाक्षाहरु तत्कालै पुरा हुने भन्ने गरेको पनि देखिएको छ । सचेत मतदाताले उक्त घोषणापत्रले जनताका तत्कालीन तथा दीर्घकालिन आवश्यकताको सम्वोधन गर्न सकेको छ वा छैन ? प्रतिवद्धतापत्रमा तत्कालै हुने भनि उल्लेख भएका विषयहरु देशको साधन, श्रोत र जनशक्तिको क्षमताले तत्काल सम्भव छ वा छैन ? घोषणा पत्र कार्यान्वयन हुन सक्ने स्थितिको छ वा गफको पुलिन्दा मात्र हो भन्ने एकिन गर्नु पर्छ । तत्काल पुरा हुनै नसक्ने, क्षमताले नभ्याउने खालका झुठा प्रतिवद्धता व्यक्त गर्ने दललाई सत्य र इमान्दार प्रतिवद्धता व्यक्त गरेका दललाई छान्ने निर्णय गर्दा आफुुले दिएको मतको कदर हुने देखिन्छ ।
(ग) उम्मेदवारको आचरण, व्यवहारः
दलिय घोषणा पत्र राम्रो भए पनि असल व्यक्तिको हातमा परेन भने त्यसले केहि काम गर्न सक्दैन, तसर्थ भोट दिने उम्मेदवार छनौट गर्दा धेरै विचार गर्नु पर्छ । उम्मेदवारलाई आफ्नो निर्वाचन क्षेत्रको भूगोल तथा जनताका वारेमा जानकारी छ, छैन ? त्यहाँका सडक, शिक्षा, स्थास्थ्य, रोजगारी आदि जस्ता वास्तविक समस्याहरु वारे जानकारी छ छैन ? उम्मेदवारको भ्रष्टाचार, कुनै अपराधिक गतिविधि वा असामाजिक कृयाकलापको इतिहास छ छैन ? जीवनस्तर कत्तिको साधा छ र आर्थिक मामलामा कत्तिको पारदर्शीता छ भन्ने वारेमा मूल्याङ्कन गर्नु पर्छ । यसका अतिरिक्त विगतमा प्राप्त गरेका जिम्मेवारी कुन स्तरमा पुरा गरेका छन् र चुनाव जितेपछि पनि जनताका प्रति उत्तरदायि हुन सक्छन् वा सक्दैनन भनी मूल्याङ्कन गर्न सक्नु पर्छ र उम्मेदवार मध्यका उत्कृष्ठ ठहर भएका उम्मेदवारलाई मात्र मत दिनु पर्छ, जसबाट आफुलाई पाँच वर्ष सम्मका लागि सन्तुष्टी मिलोस् ।
(घ) कर्तव्य प्रति सजगताः
प्रतिनिधि सभा सदस्यको कर्तव्य आवश्यकता अनुसार संविधान पुनरावलोकन तथा संसोधन गर्ने, प्रचलित कानूनको अध्ययन, पुनरावलोकन गर्ने, समय सापेक्ष नभएका ऐनहरुलाई संसोधन गरि समय सापेक्ष बनाउने, देशका लागि आवश्यक पर्ने नयाँ ऐन कानून निर्माण गर्ने, सक्षम सरकार प्रमुख बनाउने, सरकारलाई दिशानिर्देशका साथै खवरदारी गर्ने र देश र जनताका समस्यालाई संसदमा उठाई सो को समाधानका लागि पहल गर्ने हो । उम्मेदवारमा कानूनका दफा उपदफा, वा, तर, पनि जस्ता सबै शव्दलाई केलाएर त्यसको तत्कालिन तथा दीर्घकालिन असर बारे जानकारी राख्न सक्ने क्षमता छ वा छैन ? संसदमा आफ्ना कुराहरु स्पष्ट राख्न, बहस गर्न सक्ने क्षमता छ वा छैन, आफ्नो क्षेत्रका जनताको नेतृत्व गर्न सक्ने क्षमता छ वा छैन भनि एकिन गर्नु पर्छ । यसका साथै उम्मेदवारको पृष्ठभूमि कस्तो छ, भ्रष्टाचार, ठगी तथा अपराधिक कार्यमा सम्लग्न छ वा छैन भन्ने कुरा समेतको कसैको बहकाउमा नपरेर, भावनामा नवगेर, सामाजिक सञ्जालको अल्गोरिदमको प्रभावमा नपरी निजको कार्यक्षमताको मुल्याङ्कन गरेर मात्र मतदान गर्नु पर्छ ।
(ङ) जनताको पहुँचः
आफुले मत दिने उम्मेदवार आफ्नो पहुँचको पनि हुनु पर्छ, अफ्ठेरो परेको अवस्थामा भेट गर्न सक्ने हुनु पर्छ । जनताका समस्यालाई आफ्नै समस्या सम्झेर जिम्मेवार बनेर नियम संगत कुरामा सहयोग गर्ने नियतको हुनु पर्छ । समस्या देखि आत्तिने र अवसर पाए पछि मात्तीने नभई जनताका समस्या ध्यान पूर्वक सुन्ने, इमान्दारीपूर्वक समाधान गर्न प्रयत्न गर्ने र जिब्रो नचबाईकन स्पष्ट जवाफ दिने विश्वसनिय हुनु पर्छ । चुनावका बेला ठूला ठूला सपना देखाउने र चुनाव पछि कुलेलम ठोक्नेलाई चिन्नु सक्नु पर्छ र मतदान गर्न सहज पहुँच हुनेलाई छान्न सक्नु पर्छ ।
निश्कर्षः
मत दिनु भनेको जिम्मेवारी दिनु हो, आफ्नो अधिकार प्रयोग गर्ने प्रतिनिधि चयन गर्नु हो, प्रतिनिधिले प्रकट गरेका विचारमा आफ्ना विचार समेटिएका हुन्छन् र उनले गरेका निर्णय आफ्ना लागि पनि स्वीकार्य बन्न पुग्छन् । तसर्थ जुन दल वा उम्मेदवार राष्ट्र वा राष्ट्रियताका सवालमा प्रतिवद्ध छन्, आर्थिक पारदर्शीता कायम राख्न सक्छन्, मतदाताका अधिकार सुनिश्चित गर्छन भन्ने लाग्छ त्यस्तो दल वा उम्मेदवारमा मात्र आप्mनो भोट प्रयोग गर्नु पर्छ । पाँच वर्षका लागि आफ्नो प्रतिनिधि चयन गर्दा सामाजिक सञ्जालको अल्गोरिदमको प्रभाव तथा कुनै व्यक्ति वा दलको दवाव÷प्रभावमा नपरी सोचेर मनन गरेर मात्र मतदान गर्नु पर्छ । आफुले भोट दिएर आफै पछुताउनु पर्ने अवस्थाको सिर्जना नगरौँ, संयमित भएर मतदान गरौँ ।


प्रतिकृया दिनुहोस्