सन्तोष देवकोटा
भरतपुर/उनिहरुको आँखावाट संसारलाई हेरौं भन्ने मुल नाराको साथ पशु सेवा कार्यालय चितवनले ४ अक्टोवर अर्थात आइतबार विश्व पशुपन्छी दिवस २०८३ मनाएको छ । आ. व. २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सोका कार्यक्रम आयोजना गरिएको हो । पशु सेवा कार्यालय चितवनका प्रमुख डा. प्रभात न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वागमती प्रदेश सरकार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयका सचिव सुधीर श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो भने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश, हेटौँडाका निर्देशक माधव प्रसाद दहाल विशिष्ट अतिथि रहनु भएको थियो । पशु सेवा कार्यालय चितवनका पशु विकास अधिकृत डा. सविना मिश्रले कार्यक्रम संचालन गर्नु भएको कार्यक्रममा कार्यालयका अधिकृत रामहरी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले विश्व पशुपन्छी दिवसलाई पशुपन्छीप्रति गर्ने व्यवहारमा सुधार ल्याउने र उनीहरूको कल्याणका लागि दृढ संकल्प गर्ने दिनको रुपमा चर्चा गर्नु भयो । पशु सेवा कार्यालय चितवनले विश्व पशुपन्छी दिवसकै अवसर पारेर उक्त कार्यक्रममा चितवन जिल्लामा कार्यरत गाईभैंसीका कृत्रिम गर्भाधानकर्ताहरुलाई सम्मान र कृषकहरुलाई पशुपन्छीको औषधि वितरण गरेको छ । कार्यक्रममा पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, बागमती प्रदेश, हेटौँडाका वरिष्ठ पशु विकास अधिकृत डा. सन्तोष घिमिरेले वागमती प्रदेशमा पशुपन्छी पालनको अवस्था र चुनौतीको वारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष भगिरथ तिमल्सिना, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगाले, कृषक परोपकार दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष नारायण खनाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सोहि अवसरमा चितवन जिल्लाभित्र गाईभैसीमा सबैभन्दा धेरै कृत्रिम गर्भाधान कार्य गर्न सफल कृत्रिम गर्भाधानकर्ताहरु बन्धु अधिकारी, शंकर चौधरी, चेमन श्रेष्ठलाई एक एक वटा एआइ नगल समेत पुरस्कार सहित सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा पशुपालन व्यवसायमा संलग्न कृषकहरुलाई गाईभैंसीमा प्रयोग गरिने औषधि सहित कृषकहरू पदम प्रसाद पौडेल, भरत तामाङ, सन्दिप कंडेल, सुक बहादुर मगर, दिनेश खतिवडा, सबिन खनाल, शिवलाल कंडेल, सपना सुनारलाई सम्मान गरिएको थियो ।


प्रतिकृया दिनुहोस्