अस्मिता दाहाल क्षेत्री
उप–प्राध्यापक, वीरेन्द्र बहुमुखी क्याम्पस
२१ औं शताब्दी सूचना, प्रविधि, नवप्रवर्तन र वैश्विक प्रतिस्पर्धाको युग हो । यहाँ मार्केटिङ केवल उत्पादन वा सेवा बिक्रीको प्रक्रिया नभई उपभोक्ताको चेतना, मूल्य र सामाजिक जिम्मेवारीसँग गाँसिएको रणनीतिक अभ्यास हो । आजको मार्केटिङले भावना, सम्बन्ध, जिम्मेवारी र नवप्रवर्तनको संयोजन गर्दै समाज र व्यवसायबीचको सेतु बन्ने भूमिका निर्वाह गरिरहेको छ । विशेषतः नेपालजस्तो विकासशील मुलुकमा, र चितवनजस्तो सम्भावनायुक्त क्षेत्रमा मार्केटिङको आवश्यकता झन् बढ्दो छ । भरतपुर महानगर, जहाँ कृषि, डेरी, अर्गानिक उत्पादन, पर्यटन, स्वास्थ्य सेवा र शिक्षाको तीव्र विकास भइरहेको छ, त्यस क्षेत्रका स्थानीय उत्पादनहरूको प्रभावकारी बजारिकरणले आर्थिक रूपान्तरण सम्भव छ ।
स्थानीय ब्रान्डहरूलाई पहिचान दिने, डिजिटल माध्यममार्फत उपभोक्तासम्म पु¥याउने, र मूल्य–आधारित बजार सिर्जना गर्ने अभियान आजको माग हो । भरतपुर महानगरपालिकाले हाल स्थानीय उत्पादन प्रवद्र्धन, कृषक बजारको स्थापन, सहकारीहरूको सशक्तीकरण, अर्गानिक बजार सञ्चालन, महिला उद्यमशिलताको प्रोत्साहन, र स्वरोजगार वृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । शिक्षाको क्षेत्रमा ‘स्मार्ट स्कूल’ अवधारणा, डिजिटल पहुँच, र प्राविधिक शिक्षाको विस्तारमार्फत गुणस्तरीय सेवा प्रवाह गर्ने प्रयास गरिएका छन् । यस्ता प्रयासहरू सराहनीय छन्, तर अझ प्रभावकारी परिणामका लागि रणनीतिक मार्केटिङ दृष्टिकोण आवश्यक छ । त्यसको लागि केही सुझावहरू यस्ता छन्—
स्थानीय ब्रान्ड निर्माण ः जैविक तरकारी, मौरीपालन, हस्तकलाका वस्तु, होमस्टे सेवा जस्ता उत्पादनहरूलाई ’चितवन ब्रान्ड’ को रूपमा प्रस्तुत गर्न सकिनेछ ।
डिजिटल तालिम र पहुँच ः कृषक, लघु उद्यमी, विद्यार्थी र शिक्षकहरूलाई डिजिटल मार्केटिङ, इ–कामर्स र ब्रान्डिङमा सक्षम बनाउने कार्यक्रम आवश्यक छ।
शिक्षा र उत्पादनको समन्वय ः स्थानीय कलेज र तालिम केन्द्रहरूले ‘प्रोजेक्ट बेस्ड मार्केटिङ’ तथा सामाजिक उद्यमशिलता कार्यक्रम सञ्चालन गर्न सक्नेछन् ।
पर्यटन र संस्कृतिको प्रवद्र्धन ः चितवनको सांस्कृतिक विविधता र पर्यावरणीय सम्पदालाई समेट्ने अभियानमार्फत समग्र बजार विस्तार सम्भव छ ।
भरतपुर महानगरपालिकाले दिगो विकास लक्ष्य (क्म्न्क) अन्तर्गत गरिबी निवारण, महिला सशक्तीकरण, शिक्षा, रोजगारी र वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारेको छ । यिनै लक्ष्यहरू प्राप्त गर्न मार्केटिङ शक्तिशाली माध्यम बन्न सक्छ—दिगो उत्पादन, हरित व्यवहार, र सामाजिक उत्तरदायित्वलाई जोडेर । अबको मार्केटिङले ‘मूल्य दिनुहोस्, मात्र बिक्री नगर्नुहोस्’ भन्ने भाव आत्मसात् गर्दै समाज–केन्द्रित सोच विकास गर्नु समयको माग हो ।
सोच, योजना, प्रतिबद्धता र ज्ञानको संयोजनमार्फत मार्केटिङ सामाजिक रूपान्तरणको मूल स्रोत बन्न सक्छ । चितवनको स्थानीय उत्पादन, शिक्षा, स्वास्थ्य, सेवा, र पर्यटन क्षेत्रमा मार्केटिङको वैज्ञानिक र भावनात्मक प्रयोगमार्फत आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरणीय दिगोपन सम्भव छ । अतः आजको युगमा मार्केटिङ केवल नाफाको उपकरण होइन, समाज, शिक्षा, संस्कृति, वातावरण र भविष्य निर्माण गर्ने मार्गदर्शक शक्ति हो। हामी सबै मिलेर मार्केटिङलाई जिम्मेवार, सहभागी र दिगो बनाउन सक्यौं भने, चितवन मात्र होइन—पूरा देशमा आशाको नयाँ उज्यालो फैलिन सक्छ ।


प्रतिकृया दिनुहोस्